काठमाडौं । काठमाडौं उपत्यका छिर्न पुनः कोरोना संक्रमण परीक्षण पिसिआर रिर्पोट नेगेटिभ आएको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ । उपत्यकामा निषेधाज्ञा लम्ब्याउदै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले यस्तो प्रावधान अनिवार्य गरेका हुन् । अत्यावश्यक काम परेमा उपत्यका छिर्न दिइने छ ।
तर पिसिआर रिर्पोट भने अनिवार्य नेगेटिभ आएको हुनुपर्छ । तीन वटै जिल्ला प्रशासन कार्यालयबाट बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी भएको छ । आदेश अनुसार उपत्यकामा लकडाउन केही खुकुलो बनेको छ ।
११ बजेसम्म अत्यावश्यक वस्तुको खरीद गर्न सकिने भएको छ । औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनु पर्ने जस्ता कामलाई सरकारले अति आवश्यक सेवा भनेको छ ।
अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सार जाँचपास गरी आएका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी काठमाडौंलाई उपत्यका प्रवेश गर्न पाउने गरी निर्णय भएको छ ।
ती सवारी साधनका ड्राइभर र सहयोगी अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम समेत बनाइएको छ । निषेधाज्ञाको आदेशअनुसार हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट देखाएमा र पीसीआर परीक्षण सुविधा नभएको स्थानबाट काठमाडौं आउनुपरेमा काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता गर्नुपर्नेछ । साथमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य देखाउनुपर्नेछ ।