बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजी खोलामा आएको बाढीबाट वेपत्ता हुनेको संख्या ४१ पुगेको छ । प्रहरीका अनुसार उनीहरुमध्ये १२ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोजी कार्य जारी छ ।
सोहीकारण अझै धेरै मानिस हराएको आशंका गरिएको छ । घटनास्थलमा धेरै ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । सोहीकारण उद्धार र राहतमा समेत कठिनाई भएको छ ।
प्रहरीका अनुसार शव फेला परेका मानिसको समेत पहिचान हुन सकेको छैन । शवहरु चिन्न नसक्ने अवस्थामा छन् । प्रहरीका अनुसार बाढीले ३१ घरमा पूर्ण रुपमा क्षति गरेको छ । स्थानीय विद्यालय, लघु जलविद्युत् तथा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।
बिहीबार ढोरपाटनमा बाढीले बगाएर हराइरहेकामध्ये तीन जनाको शव भने गुल्मीको बढीघाट खोलामा फेला परेका छन् । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको हो । बाढीग्रस्त क्षेत्रमा आज गृहमन्त्रीसहितको टोली हेलिकोप्टरबाट जान उडेपनि प्रतिकुल मौसमका कारण जान भने सकेन । काठमाडौंबाट उडेको टोली पोखरामा पुगेर रोकिएको छ ।