काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उद्योगी व्यवसायीले सरकारबाट कर असुलीमा मात्र ध्यान दिइएको गुनासो गरेका छन् । अर्थ मन्त्रालय समेतको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्रीले आइतबार उद्योगी व्यवसायीलाई वालुवाटार बोलाएका थिए ।
उक्त छलफलमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा समेत सहभागी थिए । यसको मतलव अर्थ मन्त्रालय अप्रत्यक्ष रुपमा खतिवडाबाटै संचालन हुने संकेत देखिएको छ ।
अर्थ मन्त्रालय आफैसँग राख्ने र कामकाम भने अघोषित रुपमा खतिवडाबाटै गराउने मुडमा प्रधानमन्त्री रहेको संकेत आइतबारको बैठकले गरेको छ ।
प्रधानमन्त्रीले भने उद्योग व्यवसायीको समस्यामा सरकार गम्भीर रहेको बताएका छन् । उनले छलफलमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोगका प्रमुखलाई समेत सहभागी गराएका थिए ।
निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संघसंस्थाका पदाधिकारीलाई प्रधानमन्त्रीले आमन्त्रण गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारको ध्यान कर असुलीमा मात्रै नभएको स्पष्ट पार्ने प्रयास गरेका थिए ।