काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणको गति पछिल्लो तीन साता यता उस्तै छ । हरेक दिन करीव १ हजारभन्दा माथिको औसतःमा कोरोना संक्रमित बिरामी थपिएका छन् । खासगरी काठमाडौं उपत्यकामा तीब्र गतिमा कोरोना भाइरसको फैलावट भइरहेको छ ।
सरकारले कोरोना भाइरसको फैलावट रोक्न जारी गरेको निषेधाज्ञाको दोस्रो सातासमेत सकिने समय भइसक्दा पनि संक्रमणका नयाँ केशहरु आउने क्रम जारी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। अब नेपालमा कुल संक्रमित ४७ हजार नाघेको छ ।
४७ हजार २ सय ३६ जनामा यो भाइरसको आक्रमण भइसकेको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमित देखिनेसँगै यसलाई जितेर घर फर्कनेको संख्यामा भने उत्साहजनक वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। यो संख्या कुल संक्रमितको ६५ प्रतिशत हो ।
आइतबारसमेत नयाँ संक्रमितको तुलनामा डिस्चार्ज हुनेको संख्या माथि रहेको थियो । पछिल्लो २४ घण्टामा सरकारले ९ हजार २१८ जनाको पिसिआर परीक्षण भएको जनाएको छ । यो बीचमा पिसिआरको संख्यामा भने उल्लेख्य वृद्धि छैन । अब देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । अझै क्वारेन्टिनमा भने ४ हजार ७ सय ३९ जना मानिस रहेका छन् ।