पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी

काठमाडौं । सरकारले विदेशी पर्यटक तथा विदेशको नागरिकता दिएका गैरआवासीय नेपालीलाई समेत नेपाल प्रवेशको अनुमति खुला गर्ने तयारी थालेको छ । संसारका धेरै मुलुकमा विदेशी नागरिकमाथिको प्रतिवन्ध क्रमशः खुकुलो बनाउँदै लगिएको छ । यसै सन्दर्भमा नेपालमा समेत पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आगमन अनुमति खुला गर्ने तयारी गरिएको हो ।

यसअघि नेपालमा अतिआवश्यक काम परेको बेला सम्बन्धित मुलुकमा रहेको दूतावासबाट सिफारिस लिएर गैरआवासीय नेपाली घर आउन पाउने नियम बनाइएको छ । तर, त्यो अवस्था भनेको एकाघरको मृत्यु भएका वा परिवारको कुनै सदस्यमा जटिल प्रकारको बिरामी देखिएको अवस्थामा मात्र थियो ।

तर, क्वारेन्टिन र परीक्षणका मापदण्ड पुरा गरी अब क्रमशः विदेशी नागरिकलाई समेत नेपाल खुला गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएका छन् ।

यसका साथै नेपालमा संचालित आयोजनामा काम गर्ने कामदारलाई समेत नेपाल आउन दिने अनुमतिको प्रस्ताव सीसीएसी पुगेको छ । नेपालमा चीनबाट ठूलो संख्यामा कामदार कार्यरत रहेका छन् ।