दैलेख । हिन्दु धर्मावलम्बीले गाईलाई भगवान मान्छन् । उनको छोरा गोरु माथि पनि उत्तिकै श्रद्धा र आस्था गरिन्छ । सोहीकारण गाई र गोरुमाथि चोट पुर्याउनु कानूनतः वर्जित रहेको छ । तर, दैलेखमा बारीमा बाँधिराखेका दुई गोरुमाथि क्रुर व्यवहार भएको छ । बारीमा बाँधेका गोरुको खुटटा छिनालिएको छ भने शरीरभर चोटैचोट पारी विक्षिप्त बनाइएको छ ।
यो घटना दैलेख, भैरवी गाउँपालिका–२ रावतकोटका कमल थापाले पालेका गोरुमाथि भएको हो । उनका अनुसार गर्मी महिना भएको र मलको समेत प्रयोजनका लागि गोरु खुला स्थानमै बाध्ने गरिन्छ । बिहीबार तल्लो गरामा बाँधेका गोरू माथिल्लो गरामा सार्न जाँदा गोरुमाथि अत्यन्तै अकल्पनिय क्रुरता प्रदर्शन भएको हो ।
उनका अनुसार दुबै गोरुको शरीरभर चोटैटचोट पारिएको छ । दुइ वटै गोरूलाई निर्मम तरिकाले काटिएको छ । थापाले प्रहरीलाई बताएअनुसार एउटा गोरूको दुइटै खुट्टा छिनाइएको छ । मुखमा समेत धारिलो हतियारले छियाछिया पारिएको छ ।
अर्को गोरूको एउटा खुट्टा र पुच्छर छिनाइएको छ । मुख र जुरोमा समेत गहिरो चोट हुने गरी हतियारले हानिएको छ । किलोमा बाँधेर राखिएका निर्दोष पशुमाथिको यो हदको व्यवहारले भने यहाँ सबैलाई विक्षिप्त पारेको छ । प्रहरीका अनुसार यो घटनामा संलग्न रहेको आंशकामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा थापाका छिमेकी राजु विष्ट र भीमबहादुर विष्ट छन्। नेपालमा कसैले गाई वा गोरू मार्ने वा कुनै चोट पुर्याउने नियतले काम गर्न र गराउन पाउँदैन । यस्तो कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।