विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

काठमाडौं । संसारभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउने संक्रमितको संख्या १० लाख नजिक पुगेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ९ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८७२ जनाले ज्यान गुमाएको तथ्यांक छ । यो अवधिमा नेपालमा मात्र १८ जनाको ज्यान गएको छ । जुन सर्वाधिक संख्या हो ।

२४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थप भए । कोरोनालाई जित्नेको संख्या भने विश्वभर २ करोड ३९ लाख १६ हजार ९४० जना रहेको छ । संसारभर अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ७४ लाख ९७ हजार ५६० जनाको अवस्था भने अहिले पनि सामान्य रहेको तथ्यांक छ ।

उनीहरु होम आइसुलेसन वा अस्पतालमा छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यहाँ २४ घण्टामा ४५ हजार ३२८ जनामा कोरोना देखियो । अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेसकेको छ । यहाँ २४ घण्टामा ९४२ को ज्यान गएको छ । अमेरिकामा मृतक संख्या २ लाख ७ हजार ५३८ पुगेको छ ।

दोस्रो स्थानमा भारत छ । यहाँ एकैदिन ८५ हजार ९१९ संक्रमित थपिए । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । भारतमा ९२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।