न्यूयोर्क
मत सर्भेक्षणहरुश्रमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग लगातार पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आश्वासन बाँडेका छन्- बृद्धहरुलाई स्वास्थ्य कुपन दिने ।
विहीबार आफ्नो स्वास्थ्य योजना सार्वजनिक गर्दै ट्रम्पले ६५ बर्ष माथिका तीन करोड ३० लाख बृद्ध बृद्धालाई दुई/दुई सय डलर दरको कुपन दिने घोषणा गरेका हुन् ।
‘यो यसअघि कहिल्यै भएको थिएन, ट्रम्पको भनाइ छ- केही सातामै कुपन वितरण सुरु हुन्छ ।’ आफुले सधैं बृद्धहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेको तर बाइडेनले त्यसो नगर्ने उनको दावी छ ।
सन् २०१६ मा बुढापाकाबाटै धेरै भोट पाएको कारण ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । तर, यसपाली त्यस्तो अवस्था छैन । कोरोना भाइरसप्रति उनको वेवास्ताका कारण धेरै बुढापाका उनीसँग चिढिएका छन् । केही दिन अघि ट्रम्पले एक चुनावी सभामा भाइरसले युवालाई केही असर नगर्ने र ज्यान गुमाउनेमा अधिकांश बृद्ध बृद्धा रहेको टिप्पणी गरेका थिए ।
ती सबै यथार्थमाझ बुढापाकालाई आफुले हेर्ने दावी भने उनले दोहोर्याउने छोडेका छैनन् । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख बढिले ज्यान गुमाइ सकेका छन् । अधिकांश मत सर्भेक्षणमा ६५ बर्ष माथिका बहुमत बुढापाका यसपाली बाइडेनको पक्षमा देखिएका छन् । २०१६ मा आफुले जितैका सबै उमेर समूहमा थप कमजोर भएपछि ट्रम्प यसपालीको चुनावमा धाँदली हुने दावी समेत निरन्तर दोहोर्याइ रहेका छन् ।
यसरी बुढापाकालाई २०० को दरले स्वास्थ्य कुपन बाँढ्दा छ अर्ब ६० करोड अमेरिकी डलर खर्च हुने देखिएको छ । यो रकम मेडिकेयर कार्यक्रमबाट चलाइने ह्वाइट हाउस अधिकारीहरुको दावी छ ।