नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

काठमाडौं । सरकारले एसिड आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध कडा कानूनी कारवाहीका प्रावधानसहित नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । एसिड आक्रमणका दोषिलाई कडा कारवाही गर्ने व्यवस्थासहित कानूनी व्यवस्था गर्न सरकारले आज अध्यादेश जारी गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यावधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिबाट आज एकै दिन तीन वटा अध्यादेश जारी भएका छन् ।

एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ कानून हो । फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश हो। गत विहिबार मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपति समक्ष पठाएको थियो। सोहीअनुसार अध्यादेश जारी भएको हो ।

नयाँ कानून अनुसार अब कानूनमा आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने भएको छ । अरुको शरीरमा एक थोपा मात्र पनि एसिड परेमा त्यसको कसुर कडा हुने भएको छ ।

तेजाब आक्रमण गर्नेले कुनै पनि बाहनामा छूट नपाउने गरी कानून बनेको हो । महिला वा पुरुष, जो माथि आक्रमण भएपनि यो कानून आकर्षित हुने भएको छ । एसिड आक्रमण गरेको अवस्थामा जहिलेसुकै उजुरी दिन सक्ने प्रावधान रहेको छ । ।

तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्म सजाय र दश लाख रुपैयाँसम्म जरिबाना तोकिएको छ। आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ।

तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्‍याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ। शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय राखिएको छ ।