एक वर्ष कुराएर पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव पठाएन जुरिचले

काठमाडौं । स्वीट्जरल्याण्डको जुरिच इन्टरनेशनल एजीले निजगढ विमानस्थल निर्माणमा इच्छा देखायो । दुई वर्ष अगाडी आयोजना भएको लगानी सम्मेलनका दौरान उसले निजगढमा लगानीको आशयपत्र हालेको थियो । अन्य ६ वटा कम्पनीलाई पाखा लगाउँदै सरकारले जुरिचलाई छनोट गरी उसबाट लगानीको प्रस्ताव माग गर्यो ।

तर, सेप्टेम्बर ३० सम्मको अन्तिम अवधि सकिँदा समेत यो कम्पनीले प्रस्ताव पठाएन । उल्टो कोरोना भाइरसको संक्रमणको महामारीका कारण एभिएशन उद्योग धरासायी बनेको भन्दै उल्टो प्रस्ताव पठाउन नसक्ने जानकारी दियो । यसले नेपालको सबैभन्दा चर्चामा रहेको निजगढ विमानस्थलको निर्माण पुनः अन्यौलमा परेको छ ।

यो विमानस्थलको चर्चा तीन दशकदेखि भइरहेको छ । तर, लगानीको उचित मोडल नभेटिएका कारण आयोजना अन्यौलमा छ । पर्यटन मन्त्री योगेश भट्टराईले यो आयोजना सरकार आफैले निर्माण गर्ने बताइरहेका छन् । त्यसकारण अब बल सरकारको कोर्टमा पुगेको छ । आयोजनामा अहिले पूर्वतयारीका चरणवद्ध काम भइरहेका छन् ।

तर, रुख कटानमा भने विवाद छ । यो अदालतमा पुगेर रोकिएको छ । तर, यसबीचमा लगानीको मोडालिटी टुंगो लगाउने योजना भने सफल हुन सकेन । अब लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकले यस आयोजनाका सम्बन्धमा नयाँ रणनीति तय गर्ने बताइएको छ ।