नेपालगन्ज । नेपालमा बिहीबारसम्म कुल ५ सय ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ । यसमा पहिलो पटक चिकित्सकले ज्यान गुमाउनु परेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका ३ घर भएका ५९ वर्षिय चिकित्सक डा. हरि सापकोटाको कोरोना भाइरसको संक्रमणका कारण बिहीबार ज्यान गएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले यसको पुष्टी गरेको छ । उनमा भदौ २९ मा संक्रमण पुष्टि भएको थियो । उनमा श्वास फेर्न गाह्रो हुने समस्या आएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो ।
प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिए पनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोहीक्रममा उनको बिहीबार दिउँसो ३ः१० बजे मृत्यु भएको छ । उनी कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए ।