काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी मङ्सिरमा हुने भएको छ । यसअघि गत चैतमै हुनुपर्ने चुनाव कोरोना भाइरसको महामारीसँगै पर सर्दै आएको थियो । यसले वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल करीव १ वर्ष लम्बिएको छ ।
मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा तथा निर्वाचन गर्ने गरी मिति तय भएको महासंघले जानकारी दिएको छ । महासङ्घको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा तथा चुनावको मिति तोकेको हो ।
प्रज्ञा भवन र राष्ट्रिय सभा गृह मध्ये एक स्थानमा निर्वाचन हुने छ । यसअघि बसेको महासङ्घको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । त्यो कार्यदलले महासङ्घको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रम काठमाडौंमा गर्न सिफारिस गरेको थियो ।
नेपाल सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब यसपछि कोभिड–१९ का कारण कुनै पालिकाले लकडाउन तथा निषेधाज्ञा गरेमा महासङ्घका प्रतिनिधिलाई आवात जावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको बताइएको छ ।