प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको बैठकमा प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेका हुन् ।

उनले प्रदेशको राजधानी देउखुरीलाई तोकियोस भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका हुन् । देउखुरी दाङको राप्ती गाउँपालिका, गडवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदीको किनारमा अवस्थित छ ।

उक्त प्रस्तावमा सोमबार छलफल हुनेछ । मन्त्रीको उक्त प्रस्तावमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी दाङ तोक्न निर्देशन दिएको थियो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले प्रदेश राजधानीबारे सहमति गरेको थियो ।