नेपाल-भारत हवाई सेवा शुरु गर्न पहल थालियो

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ । तर, भारतबाट भने यात्रु आउन पाउँदैनन् । किनकी भारतमा नेपालले उडान खोलेको छैन । तर, नजिकिएको दशैं र चाडबाडसँगै उडान खोल्न भने तीव्र दवाव छ ।

यसै सन्दर्भमा नेपालले भारतमा उडान अनुमति दिने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आगामी १ कात्तिकबाट नेपाल र भारतीय शहरमा उडान खोल्ने गरी प्रस्ताव पठाएको छ । यो प्रस्ताव स्वीकृत भएमा सेवा प्रारम्भ हुनेछ ।

अहिले ठूलो संख्यामा नेपाली उपचार, अध्ययन र रोजगारीका लागि भारत जान्छन् । भारतीय समेत भिषा नलगाई घुमघाम गर्न पाइने भएकाले ठूलो संख्यामा नेपाल आउने गर्छन् । त्यसकारण नेपाल र भारत उडान अर्थतन्त्रका दृष्टिकोणबाट पनि महत्वपूर्ण मानिन्छ ।

नेपालले स्थलमार्गमा समेत कडाई गरेको छ । भारतमा कोरोना महामारी अहिले सबैभन्दा उच्च विन्दुमा छ । जहाँ दैनिक १ लाख हाराहारी मानिसमा कोरोना देखिएको छ । १ लाख मानिसको ज्यान गइसकेको छ ।