प्रधानमन्त्री निवासमा कोरोनै-कोरोना, ६७ सुरक्षाकर्मीमा पुष्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मूख्य सल्लाहकारसहित उनको किचेन क्याविनेटमा रहने ५ जनामा कोरोना भाइरसको पुष्टी भएकै दिन बालुवाटारको सुरक्षामा खटिने ६७ जना सुरक्षाकर्मीमा एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको सैन्य स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

प्रधानमन्त्रीका नजिकका मान्छेलाई कोरोना लागेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्थाबारे भने बालुवाटारले कुनै सूचना सार्वजनिक गरेको छैन ।

अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण नदेखिएको र अझै केही सुरक्षाकर्मीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । दोस्रो पटक मृगौला फेरेका प्रधानमन्त्रीको स्वास्थ्यबारे आम मानिसको भने तीव्र चासो रहने गर्छ ।