काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ । अहिले देशभर देखिने कुल संक्रमणमध्ये ६० प्रतिशत काठमाडौंमा देखिएको छ । यस अस्थामा बाहिर सुरक्षित अवस्थामा विभिन्न जिल्लामा रहेका नागरिकलाई काठमाडौं नआउन सरकारले आह्वान गरको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको हो । शनिबार देशभर २१२० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उपत्यकाका ११७७ जनामा देखियो ।
अन्य दिनमा समेत यस्तै प्रवृत्ति अनुसार कोरोना संक्रमण बढिरहेको छ । उपत्यकामा संक्रमण तीव्र गतिमा बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाई छ । अहिले सकभर काठमाडौं उपत्यकामा नआउन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउन उनले नागरिकलाई आह्वान गरेका छन् ।