कांग्रेसले जिल्ला बन्द र प्रदर्शन चर्काएपछि बुटवलमा निषेधाज्ञा

फाइल तस्वीर

बुटवल । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेसँगै रुपन्देहीमा आन्दोलन चर्किएको छ । आइतबार नेपाली कांग्रेसले रुपन्देही जिल्ला बन्दको आह्वान गरेको छ । यो मुद्दालाई कांग्रेसले भोटको राजनीतिका रुपमा भरपर उपयोग गर्ने संकेत गरेको छ ।

विरोधका कार्यक्रम र प्रदर्शन बढ्सँगै रुपन्देही जिल्ला प्रशासनले भने बुटवलमा निषेधाज्ञा जारी गरेको छ । बुटवलका करिब दर्जन ठाउँ चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधित क्षेत्र घोषणा भएको स्थानमा ५ जनाभन्दा बढी मानिस एकै स्थानमा भेला हुन पाइदैन ।

आज कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउको कार्यक्रम राखेको छ । सम्भावित दुर्घटना रोक्न निषेधित क्षेत्र तोकिएको प्रशासनको भनाई छ । प्रशासनले असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको हो ।

प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइने छैन । प्रदेश मन्त्रालय रहेका दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।