भक्तपुरमा १४ वर्षिय किशोरीमाथि गाडी भित्रै बलात्कार, दुई पक्राउ

काठमाडौं । देशभर बालिका तथा किशोरीमाथि बलात्कारका घटना सार्वजनिक भइरहेकै समयमा उपत्यकामै एक किशोरी बलात्कारको शिकार बनेकी छिन् । सिन्धुपाल्चोककी एकजना बेसहारा १४ वर्षीया किशोरीमाथि कुकृत्य गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न एक जना फरार छन् ।

काठमाडौंमा मजदुरी गरेर गुजारा चलाउँदै आएकी किशोरीलाई नसालु पदार्थ खुवाएर तीन जनाले गाडी भित्रै बलात्कार गरेको प्रहरीले जनाएको छ । उनीमाथि पटक पटक बलात्कार भएको प्रहरीको भनाई छ । शुक्रवारदेखि शनिवार मध्यान्हसम्म उनीमाथि तीन जनाले बलात्कार गरेका हुन् ।

रत्नपार्कबाट नम्बर खुल्न नसकेको गाडीका सहचालक दीपेश राई भन्‍ने व्यक्तिले किशोरीलाई नसालु पदार्थ र पानी खुवाएर सूर्यविनायक पुर्याएका थिए । जबर्जस्ती करणी गरी दीपेशले किशोरीलाई सूर्यविनायकमा पार्किङ गरी राखेको बा. ३ ख २६१२ नम्बरको गाडीमा राखेर भागेको प्रहरीले जनाएको छ ।

बसमा अचेत अवस्थामा रहेकी उनीमाथि थप दुई जनाले बलात्कार गरेको प्रहरीको भनाई छ । प्रहरीले बा ३ ख २६१२ नम्बरको बस चालक भक्तपुरको सूर्यविनायक बस्‍ने सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका १० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्को बसका कर्मचारी जुगल गाउँपालिका ४ घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनीहरुले शनिबार बिहान सूर्यविनायकबाट गाडीमा राखेर चाँगुनारायण नगरपालिका८ स्थित हनुमन्ते खोलाको तीरमा किशोरीमाथि करणी गरेको प्रहरीको भनाई छ । त्यसपछि उनीहरुले किशोरीलाई सूर्यविनायक ल्याई गाडीभित्रै छाडिदिएका थिए ।

स्थानीयले बसभित्र किशोरी लडिरहेको देखेपछि प्रहरीलाई जानकारी गराएको र त्यसपछि मात्र घटना बाहिरिएको हो । खबर आएलगत्तै महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले उनको शनिवार राति ९ बजे उद्धार गरेको थियो ।

काठमाडौंमा किशोरीका परिवार र आफन्त नरहेको र उनी अन्य व्यक्तिको सहारामा गुजारा चलाउँदै आएको खुलेको छ । उद्धारपछि भने उनलाई मानव कल्याण समाज भक्तपुरले संरक्षण गरेको छ ।