काठमाडौंमा म्याद गुज्रेका खाद्य पदार्थको विगविगी, गोदाममा प्रहरीको छापा

काठमाडौं । दशैं नजिकिएसँगै बजारमा प्रशासनको सक्रियतासमेत बढेको छ । बजार अनुगमन तीव्र भएको छ । यसै सन्दर्भमा उत्पादनपछि प्रयोग गर्ने अवधि सकिएका खाद्य पदार्थको प्याकेटमा नयाँ मिति राखेर बजारमा पठाउने धन्दा नै चलेको पाइएको छ ।

यसले काठमाडौंको बजारमा म्याद गुज्रेका सामानको विगविगी रहेको खुलेको छ । आइतबार केक र बेकरीका कच्चा पदार्थको म्याद सकिएपछि पुनः नयाँ लेबल (नयाँ उत्पादन तथा उपभोग्य मिति) राखेर बजार पठाउने एक ठूलो गोदाममा प्रहरीले छापा हानेको छ ।

यस्तो धन्दामा संलग्न काठमाडौंको कलंकीस्थित एक गोदामबाट चार जना पक्राउसमेत परेका छन् । यस्तो धन्दा पाँच तले घर नै भाडामा लिएर हुने गरेको पाइएको हो । एएसटी प्रालिले १४ सय प्रकारका त्यस्ता कच्चा पदार्थमा पुनः नयाँ मिति राख्ने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

गोदाममा कार्यरत अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझा पक्राउ परेका छन् । घटनाको अनुसन्धान भइरहेको बताइएको छ । पक्राउ परेका अवस्थी लेखापाल, श्रेष्ठ क्वालिटी म्यानेजर र ओझा स्टोर किपर हुन् ।

तर, कम्पनीका संचालक भने पक्राउ परिसकेका छैनन् । प्रविन बंका र किरणदेवी अग्रवाल कम्पनीका सञ्चालक हुन् । उनीहरुको खोजी भइरहेको छ ।

पाँच तले घरको तीनवटा फ्ल्याटमा केक र यसका कच्चा पदार्थको पुनः मिति लेख्न व्यवस्थित रुपमा काम हुने गरेको तथ्य फेला परेको हो । बेकरी बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट गोदामबाट प्रहरीले बरामद गरेको छ ।