काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको चपेटमा छ । अहिले यहाँ कन्ट्राक्ट ट्रेसिंग बन्द भएको छ । लक्षण देखिएका मानिसमै गरिएको परीक्षणबाट समेत दैनिक २ हजार हाराहारीमा संक्रमण पुष्टी हुने गरेको छ । यो अवस्थाबाट अब उच्च नेतृत्व पनि अछुतो छैन । प्रधानमन्त्री निवास बालुवाटारको किचेन क्याविनेटकै सदस्यमा कोरोना पुष्टी भयो ।
त्यतिमात्र होइन, ६३ भन्दा बढी सुरक्षाकर्मीमा समेत कोरोना देखिएपछि सुरक्षामा नयाँ सेट नै पठाउनु परेको छ । यसको असर पार्टीहरुले निर्धारण गरेका नियमित बैठक र एजेण्डामा समेत पर्न थालेको छ ।
नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक ५ दिनका लागि पर सरेको छ भने नेकपा सचिवालय बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । आइतबार प्रदेश ५ को राजधानीका विषयमा चर्किएको विषयलाई लिएर वालुवाटारमा नेताहरुबीच छलफल भएपनि त्यो सचिवालय बैठक भने थिएन ।
आइतबार महासचिव विण्णु पौडेलले बुटवलबाट प्रदेश ५ को स्थायी राजधानी सार्ने विषयमा पार्टीले गरेको निर्णयमा असहमति राखेका थिए । यसबाहेक कोरोना कहरका बीच निर्धारित बैठकहरु भने प्रभावित हुने देखिएको छ ।