२२ दिनदेखि आमरण अनसनमा डा. केसी, सरकारको पूर्ण वेवास्ता

काठमाडौं । डा. गोविन्द केसी पछिल्लो २२ दिनदेखि आमरण अनसनमा छन् । उनी गलिसकेका छन् । बोल्न नसक्ने अवस्थामा पुगेका छन् । तर, सरकार भने उनको मागमा कानमा तेल हालेर बसिरहेको छ । सोहीकारण उनीसँग वार्ता गर्ने र समस्या समाधान गर्नेतर्फ सरकारले कुनै चासो दिएको छैन ।

डा. गोविन्द केसीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। केसीमा छाती, मांसपेशी दुख्‍ने समस्या देखिन थालेको छ । भोक र कमजोरीले रिँगटा लाग्ने समस्या भएको छ । उनी बोल्न छाडेका छन् ।

शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कमी भएको समेत चिकित्सक सहयोगीहरुले जनाएका छन् । उनको मुटुको चाल घटबढ हुन थालेको छ । डा. केसीलाई अक्सिजनको साहारामा राखिएको छ । उनी शिक्षण अस्पतालमा आमरण अनसनमा छन् । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै केसी १९ औं आमरण अनसनमा छन् ।

सरकारले भने अनसन फिर्ता लिन माग गर्दै कोरोना रोकथाममा ध्यान दिन आग्रह गर्दै आएको छ । उनी भदौ २९ मा जुम्ला चन्दनाथ नगरपालिका ६ को बाबिरा मष्ट मन्दिरबाट १९ औं अनशन बसेका थिए ।

त्यहाँ स्वास्थ्यमा समस्या देखिने र सरकारले समेत वेवास्ता गरेपछि ८ औं दिनमा उनी जुम्लाबाट काठमाडौं आएका थिए । आज डा केसीको मागमा गम्भीर हुन र उनको ज्यानमा कुनै पनि प्रकारको क्षति भए त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा हुने चेतावनी कांग्रेस नेता गगन थापाले दिएका छन् ।