काठमाडौं, २१ असोज । मंगलबार धेरै पछि नेकपा सचिवालय बैठक बस्यो । यो बैठकले मन्त्रिपरिषद्का सदस्य परिवर्तनको विषय टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर, बैठकमा नेताहरुले डा. गोविन्द केसी अनसन बसेको २३ दिन पुग्दासमेत किन वार्ता नगरेको भन्दै प्रधानमन्त्रीसँग प्रश्न राखेका थिए ।
त्यसपछि छलफल केसीको मागकै सम्बन्धमा केन्द्रित भएको नेकपा स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली केसीका माग सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको समेत बैठकलाई जानकारी गराएका थिए ।
बैठक अगाडी प्रधानमन्त्रीको सन्देश लिएर केसीलाई भेट्न शिक्षासचिवसहितको एक टोली शिक्षण अस्पताल समेत पुगेको थियो । सचिवालय बैठकमा नेताहरुले डा. केसीको जीवन बचाउन सरकारले ठोस् कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले केसीको जीवन बचाउन सरकार गम्भीर हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए । यसरी पार्टी भित्रैबाट दवाव आएपछि अन्ततः सरकार केसीसँग वार्ता गर्ने मुडमा पुगेको हो । यसअघि सरकारले केसीका मागलाई पुरै वेवास्ता गरेको थियो ।