काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमण २५ हजारभन्दा माथि पुगेको छ । यस्तो अवस्थामा पनि नेपालका तीन जिल्ला भने अहिले पनि संक्रमण मुक्त रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु अहिले भाइरसमुक्त जिल्ला बन्न सफल भएका छन् ।
अन्य हिमाली भेगमा समेत संक्रमण न्यून छ । तर, काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भने संक्रमणको दर उच्च छ । एकै जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या बुधबार साँझसम् ७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु अहिले भाइरसमुक्त जिल्ला बन्न सफल भएका छन् ।
मन्त्रालयको विवरण अनुसार मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला हुन् । बुधबार नेपालमा अहिलेसम्मकै बढी ३ हजार ४ सय ३९ जनामा सङ्क्रमण पुष्टी भयो ।
यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ पुगेको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८४ सङ्क्रमित थपिँदा काठमाडौंमा मात्र १ हजार २ ९६ जनामा कोरोना देखियो । भक्तपुरमा ९५ र ललितपुरमा २९३ भेटिएको हो । काठमाडौंका अस्पताल भरिभराउ भएका छन् । तर भक्तपुरमा भने बेड खाली छन् ।
नेपालले अहिलेसम्म कुल ११ लाख १३ हजार ४८५ नमुना परीक्षण गरिसकेको छ । देशभर संक्रमित जसरी बढिरहेका छन्, यसलाई जित्ने मानिसको संख्या पनि उस्तै छ । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६८ हजार ६६८ रहेको छ । यो जम्मा सङ्क्रमितको ७२ प्रतिशत हो ।