काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालभन्दा बाहिर रहने नेपालीका लागि साइत सार्वजनिक गरको छ । दशैंको टीका लगाउने उत्तम साइत तयार पारेर समितिले बिहीबार सार्वजनिक गरेको हो । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको उनको भनाई छ । अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम भइरहेको छ । विदेशमा बस्ने नेपालीका लागि दशैंको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय तय गरिएको उनको भनाई छ ।
अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएको थिएन । यसले विदेशमा अन्यौल हुने गरेको थियो । समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २५ तारिखमा टीकाको शुभ साइत जुराइएको छ ।
अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५मा टीकाको शुभसाइत जुरेको छ । बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ । यसबाहेक क्यानडाको टोरन्टोमा ११ः४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ अक्टोम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ ।
यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्डलगायतका देशमा भने अक्टोम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको समितिले उल्लेख गरेको छ ।