काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नेपालीले बाँच्नकै लागि देश छाड्ने अवस्था नआउने बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबारबाट शुरु भएको एनआरएन विश्व ज्ञान सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो दावि गरेका हुन् । उनले जीविकाकै लागि विदेश जानु पर्ने बाध्यता अब नेपालीलाई नपर्ने बताए।
उनले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सीपको प्रयोग गर्न सक्ने आधार निर्माणमा गैरआवासीय नेपालीको पनि भूमिका हुनुपर्नेमा बताए । उनले भने ‘अब जीविकाकै लागि विदेश जाने अवस्थाको अन्त्य हुनुपर्छ। ज्ञान आर्जन आदि कामका लागि मात्रै बाहिर जानुपरोस् ।’
अब जीविकाकै लागि विदेश जाने अवस्थाको अन्त्य हुनुपर्छ। ज्ञान आर्जन आदि कामका लागि मात्रै बाहिर जानुपरोस् ।
प्रधानमन्त्री केपी शर्मा ओली
बाँच्नका लागि देश छाड्नुपर्ने, परिवार छाड्नु पर्ने, बस्ती छाड्नुपर्ने, ठाउँ छाड्नुपर्ने अवस्था नहोस् भन्ने कामना उनले गरे । भर्चुअल रुपमा शुरु भएको कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले आफूहरु विदेशमा प्राप्त ज्ञान, सीप र लगानी स्वदेशको समृद्धिका लागि प्रयोग गर्न तयार रहेको बताए । तर, त्यसका लागि राज्यले वातावरण बनाउनु पर्ने उनको भनाई छ ।
आजबाट दोस्रो विश्व ज्ञान सम्मेलन शुरु भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले रोग र भोकले जनताले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले काम गरिरहेको समेत दावि गरे ।
‘रोग र भोकले नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर, जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर मैले सुरु देखि नै अभिव्यक्ति दिँदै आएको छु’, प्रधानमन्त्रीले भने, ‘त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ।’