राजविराज । सप्तरीमा प्रहरी र तस्कर समुहबीच झडप भएको छ । मंगलबार राती भएको झडपमा दुई प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । राजविराज नगरपालिका १३ मुसहर्नियाँममा प्रहरी र तस्कर समुहबीच झडप भएको हो ।
यो क्षेत्रमा पटक पटक प्रहरीसँग तस्करको मुडभेट हुने गर्छ । भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर आएका उनीहरुलाई सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेका थिए । त्यसपछि उनीहरुले स्थानीयलाई गुहारेका थिए। स्थानीयको ६०\७० जनाको भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।
सो क्रममा प्रहरीले ४ राउण्ड हवाई फायर समेत गर्नु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीको संख्या कम भएको र गाँउलेले भालालगायत घरेलु हतियार बोकेर निस्किएपछि प्रहरीले हवाई फायर गरेको हो ।
उक्त घटनामा दुई जना प्रहरी घाइते भएका हुन् । घटनापछि प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा थप फोर्स मगाएको थियो । कोरोना भाइरसको संक्रमणसँगै सीमाना नाका बन्द छन् । सोहीकारण भारतबाट चोरी शिकारी गरी सामान नेपाल भित्रने गरेको छ ।