कैलालीमा दुई प्रहरीको विभत्स हत्या गर्ने ७ तस्कर सार्वजनिक

तस्वीर सौजन्य : हाम्रो पात्रो

कैलाली । कैलालीमा ड्युटीमा खटिएकै समयमा कब्जामा लिएर दुई प्रहरी कर्मचारीको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ७ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको अभियोगमा धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको छ ।

उनीहरु नेपाल र भारतको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । प्रहरीले कुल १३ जनालाई पक्राउ गरेको थियो । असई विकले केराउको तस्करीमा अवरोध गरेपछि सामुहिक आक्रमण गरी प्रहरीको हत्या गरिएको उनीहरुले स्वीकार गरेका छन् ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल चढेर नियमित गस्तीमा निस्किएका असई विक र जवान साउद माथि तस्कर समूहले आक्रमण गरेको थियो । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो । साउदको शव मंगलबार मात्र भेटिएको हो । तस्करहरुले घरेलु हतियारको प्रयोग गरी प्रहरीको हत्या गरेका छन् ।