काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ।
केही सातायता संक्रमण दरमा केही कमी आएपनि पछिल्ला दुईतीन दिन यता संक्रमण पुनः बढ्न थालेको हो।
वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजार सात सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा त्यहाँ संक्रमणबाट एक हजार दुई सय १५ जनाले ज्यान गुमाएका छन्।
मृत्यु र संक्रमणको यो संख्या पछिल्लो २४ घण्टामा विश्वका अन्य सबै देशको भन्दा धेरै हो।
बुधबार अमेरिकामा दुई महिनापछि ठूलो संख्यामा कोरोनाका नयाँ बिरामी अस्पताल भर्ना भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
बुधबार एकैदिन त्यहाँ ४० हजारको संख्यामा कोरोनाका बिरामी अस्पताल भर्ना भएका छन्। यो अगस्ट यताकै सबैभन्दा धेरै हो।
अमेरिकाका मध्यमश्चिमका राज्यहरूमा संक्रमण बढी देखिन थालेको छ। आयोवा, कन्सास, मिसौरी, नेब्रास्का, उत्तर डकोटा, दक्षिण डकोटा, विस्कॉन्सिन लगायतका राज्यमा संक्रमण दर उच्च रहेको रोयटर्सले जनाएको छ।
गएको शुक्रबार अमेरिकामा ६९ हजार ४ सय ७८ जना नयाँ संक्रमित फेला परेका थिए।
पछिल्लो २४ घण्टामा विश्वरभर संक्रमणबाट ६ हजार आठ सय ३९ जनाले ज्यान गुमाएका छन्। अमेरिकापछि भारतमा धेरैको मृत्यु भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा सात सय तीन जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा पाँच सय ७१ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३६ हजार एक सय ३० जनामा संक्रमण पुष्टि भएको छ। छिमेकी देश भारतमा हिजो एकै दिन ५६ हजारमा संक्रमण देखिएको छ।
कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमा ११ लाख ३६ हजार तीन सय ३५ जनाले ज्यान गुमाएका छन् भने चार करोड १४ लाख ८४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।