काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई दिएको स्वागत विवादित बनेको छ । प्रधानमन्त्रीलाई भेट्न रअ प्रमुख सामन्तकुमार गोयल बुधबार अपरान्ह काठमाडौं आएका थिए । भारतीय एयरफोर्सको विशेष जहाजबाट काठमाडौं आएका उनी बिहीबार दिल्ली फर्किए ।
प्रधानमन्त्रीले कुटनीतिक मर्यादा बिर्सेर रअका प्रमुखसँग करीव २ घण्टा भेटवार्ता गरेका थिए । यस कदमको नेपाल भित्र तिब्र आलोचना भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीचको भेटलाई आपत्तिजनकको संज्ञा दिएका छन् ।
उनले ट्विटरमार्फत नेता नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति स्वाधिनता र नेकपाको विचार नीति र घोषणाको विपरीत प्रधानमन्त्री र रअ प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको उल्लेख गरेका छन् । सामाजिक संजालमा यो भेटवार्तालाई लिएर प्रधानमन्त्रीको राष्ट्रवादबारे खरो टिप्पणी भइरहेको छ ।