वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका कतिपय प्रक्रिया अझै बाँकि छन् । यसको बाछिटाले ठूल्ठूला दुर्घटना निम्त्याउन थालेको छ । यसै क्रममा पर्सामा नेकपा कार्यक्रताबीचको विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका मुकेश चौरसिया छन् ।
प्रहरीका अनुसार उनको आज बिहान ९ बजे वीरगंजस्थित एलएस न्यूरो हस्पिटलमा ज्यान गएको छ । बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा नेकपा कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो ।
सोहीबेला उनी गम्भीर घाइते भएका थिए। झडपमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराएको भन्दै झडप शुरु भएको थियो ।
झडपमा घाइते भएका अन्य ७ जना भने उपचार पछि घर फर्किएका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ ।