काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक भएको छ । नेपाली सेनाले भ्रमण तालीका सार्वजनिक गरेको हो । उनी कात्तिक १९ काठमाडौं आउने छन् । २१ कात्तिकमा भारत फिर्ता हुनेछन् । नेपाली सेनाका अनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
तीन दिन नेपाल भ्रमणमा रहँदा सेनाध्यक्ष नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग वार्ता गर्नेछन् ।
उनले अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम समेत रहेको सेनाले जनाएको छ । उनले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने छन् । भेट कात्तिक २१ का दिन तय भएको छ ।