फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने

Photo source : Reuters

पेरिस । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच फ्रान्सले देशव्यापी लकडाउन शुरु गरेको छ । फ्रान्समा दोस्रो पटक लकडाउन घोषणा गरिएको हो । राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । लकडाउन शुक्रबारबाट शुरु भएको हो । लकडाउन नोभेम्बर महिना भर लागु हुने भएको छ ।

अहिले यूरोपमा कोरोना भाइरसको संक्रमणले फैलावट लिएको छ । राष्ट्रपति इम्यानुयल म्याक्रोका अनुसार लकडाउन घोषणा गरेको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन । स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग खुला राखिएको छ ।

रेष्टुरेन्ट्स, बारसहित मानिसको भिडभाड हुने व्यवसाय बन्द गरिएको छ । अन्तरर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार फ्रान्समा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने मानिसको संख्या अप्रिल महिनापछि अहिले सबैभन्दा माथि पुगेको छ ।

यस मुलुकमा पछिल्लो २४ घण्टामा ३३ हजार नयाँ संक्रमित पुष्टी भएको छ । राष्ट्रपति म्याक्रोले कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगेको उल्लेख गरेका छन् । फ्रान्समा अस्पतालका आइसीयू बेडसमेत भरिएको उनले जानकारी गराएका छन् ।