विप्लव समुहका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ

विराटनगर । विप्लव समुहका दुई कार्यकर्ता हातहतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पूर्वी कमाण्ड अन्तर्गत दुई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार उनीहरुलाई मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार नियन्त्रणमा लिइएको हो ।


पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ६ का १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय प्रतिक भन्ने काशीनाथ घिमिरे रहेका छन् । उनीहरुले हातहतियार देखाउँदै स्थानीयसँग चन्दा आतंक फैलाएपछि प्रहरीले खोजीको सूचिमा राखेको थियो । उनीहरुलाई विशेष सुराकीका आधारमा प्रहरीले मिक्लाजुङ गाउँपालिका १ स्थित विजुलीप्रसाद तिम्सिनाको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो घर खाली भएका कारण उनीहरु कब्जा गरेर बसेका थिए । उनीहरूको साथबाट प्रहरीले हतियार र ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ। घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोसी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) हुन । राई भने साधरण सदस्य रहेको प्रहरीले उल्लेख गरेको छ ।

उनीहरूको साथबाट एक थान भरुवा बन्दुक, सोको गोली, हाई एक्सप्लोसिप विस्फोटक पदार्थ जिलेटिन तीन केजी, सुतली बम दुई थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटरसहित बम विस्फोटमा प्रयोग हुने सामग्री बरामद भएको छ ।