संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै

काठमाडौं । संसारकै अग्लो दोस्रो तथा प्राकृतिक रुपमा निर्मित संसारकै अग्लो बन्जी नेपालमा संचालनमा आउने भएको छ । पर्वतस्थित कुश्माको बन्जी र स्वीङ आगामी शनिबारबाट संचालनमा आउने भएको हो ।

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलबाट बन्जी, स्वीङ र स्काइ साइक्लीङसहितका साहसिक खेल संचालनमा आउँदैछ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चालन गर्ने गरी तालीका सार्वजनिक गरेको हो । यो स्थानमा २०७३ सालबाट पुल निर्माण थालिएको हो ।

पुल र रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिएको थियो । लकडाउनका कारण सन्चालनमा ढिलाई भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताएका छन् । यहाँ ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्म निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।

अहिले विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा दर्ज हुनेछ ।

मकाउको मकाउ टावरस्थित बन्जी मानव निर्मित टावरमा बनेको हो । कुश्मामा भने प्राकृतिक खोँचमा बन्जी गर्न पाइनेछ । यहाँ विश्वकै अग्लो स्वीङ समेत बनेको छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको कम्पनीले जनाएको छ ।

टेण्डम (जोडि) स्वीङको १२ हजार रुपैयाँ शुल्क तोकिएको छ । बन्जीकालागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ । सो भन्दा माथी बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक रहेको कम्पनीले जनाएको छ ।

यहाँ गुलेलीको शैलीमा निर्माण गरिएको छ । पिङ खेल्न प्रतीव्यक्ति २ सय ५० रुपैयाँ तोकिएको छ । यहाँ स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ समेत तयार गरिएको छ । विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ।

दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्छ । स्काइ साइक्लीङको सन्चालन भने केही महिना पछि हुने भएको छ । कम्पनीले बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ुद क्लिफ रिसोर्टु समेत निर्माण गरेको छ । यो परियोजनाको कुल लगानी २८ करोड रहेको कम्पनीको भनाई छ ।