आज कोजाग्रत पूर्णिमा, दशैं सकिँदै

Source : Hamro patro

काठमाडौं । आजबाट दशैं औपचारिक रुपमा सकिँदै छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज अन्तिम दिन दसैंको टीका प्रसाद लगाउने काम पुरा गरी दशैंको समापन हुने भएको हो । आज बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमरा नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गर्ने प्रचलन छ । त्यससँगै दशैंको औपचारिक समापन हुन्छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरिन्छ । कतै रातभर जाग्राम बसेर आरधना गर्ने समेत प्रचलन रहेको छ । यससँगै दुर्गापक्षको समापन हुन्छ । माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजार गरि आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

दसैं र नवरात्र विजया दशमीकै दिन सकिन्छ । तर, दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने मान्यता छ । आज हात्तीमा चढेका इन्द्रको समेत पूजा गरिन्छ ।
आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५.२५ बजेसम्म चतुर्दशी तिथि छ । त्यसकारण कोजाग्रत व्रत भने शनिबार बस्ने सकिने भएको छ ।

मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको भएको नेपाल पञ्चांग निर्णयक समितिले जनाएको छ । पूर्णिमा शनिबारको तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७.३३ बजेसम्म छ ।