आइपीएल : गेल चम्किएको खेलमा पंजाव हार्यो

Photo Source : Yahoo cricket news

आबुधावी । टी २० क्रिकेटमा बादशाह मानिने खेलाडी क्रिस गेल चम्किएको खेलमा उनको टीम भने पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ । उक्त खेलमा राजस्थानका लागि बेन स्टोक्सले अलराउन्ड प्रदर्शन गरे । उनी बल र ब्याट दुबैमा उत्कृष्ट ठहरिए ।

अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन जोडेको हो । पन्जाबका लागि क्रिस गेलले ९९ रनको पारी खेले । उनी शतक बनाउन १ रनले चुकेका हुन् । ६३ बल खेलेको उनले ८ छक्का र ६ चौका प्रहार गरे । उनले आफ्नो करियरमा १ हजार छक्काको कीर्तिमान समेत पुरा गरेका छन् ।

कप्तान केएल राहुलले ४१ बलमा ४६ रनको योगदान दिए । उनी जारी सिजनमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।


बलिङतर्फ जोफ्रा आर्चर र बेन स्टोक्सले २–२ विकेट लिएका थिए । जवाफी ब्याटिंगमा उत्रिएको राजस्थानले १८६ रनको लक्ष्य १८ औं ओभरमा तीन विकेट गुमाएर सजिलै भेटायो ।

राजस्थानको जितमा बेन स्टोक्सले सबैभन्दा धेरै ५० रन बनाए । सन्जु सामसनले ४८ रनको योगदान दिए । रोबिन उथप्पा ३०, स्टिभ स्मिथ ३१ र जोस बटलरले २२ रनको योगदान गरे ।