पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी

वीरगन्ज । पार्टी भित्रको विवादका कारण उत्पन्न विवादपछि भएको झडपका क्रममा ज्यान गुमाएका नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भएको ८ दिनपछि अन्त्येष्टी गरिएको छ । उनको शुक्रबार अन्त्येष्टि भएको हो ।

चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि उनको शव उठाउन परिवार तयार भएको हो । यसअघि उनको शव नारायणी अस्पतालमा राखिएको थियो । शवको पोस्टमार्टमपछि अन्त्येष्टि गरिएको हो।

उक्त अवसरमा नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेता पुगेका थिए । उनीहरुले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

गाँउपालिका कमिटीमा ६ कात्तिकमा भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा चौरसिया घाइते भएका थिए । उनको कात्तिक ७ मा उपचारका क्रममा निधन भएको थियो। त्यसपछि प्रहरीले उनलाई रड प्रहार गर्नेविरुद्ध जाहेरी लिन मानेको थिएन ।

स्थानीय प्रहरीलाई केन्द्रले दवाव दिइरहेको थियो । किनकी यहाँ पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप भएको हो । यसमा प्रधानमन्त्रीस्तर बाटै प्रहरीलाई दवाव गएको भन्दै केन्द्रिय राजनीति समेत तरंगित बनेको थियो ।