अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण

Photo source : Axios

न्यूयोर्क । चुनावी माहौलमा व्यस्त अमेरिकामा कोरोना भाइरसको संक्रमणको दर भने हरेक दिन उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा एकै दिन देखिएको संक्रमण संख्या यो सबैभन्दा उच्च हो । थप संक्रमितसँगै अब अमेरिकामा कुल कोरोना संक्रमितको संख्या ९३ लाख १६ हजार १३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख १८ हजार ९१० जनाले भाइरसलाई जित्न सफल भएका छन ।

उपचार गराइरहेकाको संख्या ३० लाख ६२ हजार ६७ रहेको छ । त्यसमध्ये १६ हजार ९८३ जनाको अवस्था गम्भीर छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जाने मानिसको संख्या २ लाख ३५ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ ९८५ जनाको मृत्यु भएको छ । अमेरिका संक्रमण र मानवीय क्षति दुबै दृष्टिबाट विश्वमै पहिलो मुलुक हो ।