नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता नभएको करीव दुई साता पुगेको थियो । लो समयको यो अन्तरमा आज आइसब्रेक भएको छ । आज प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड वालुवाटर पुगेका छन् ।

निरन्तर पार्टी निर्णय विपरित विवादित निर्णय गरिरहेका प्रधानमन्त्रीसँग एक्लाएक्लै भेट्नुको अर्थ नभएको भन्दै प्रचण्ड वालुवाटर जान मानेका थिएनन् । तर, ओलीले विभिन्न माध्यमबाट प्रचण्डलाई निरन्तर प्रस्ताव गरेपछि आज प्रचण्ड बालुवाटार पुगेका हुन । भेटमा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउनु पर्ने प्रस्ताव गरेका छन् ।

यसबीचमा प्रधानमन्त्रीले भेटेका भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयल, कर्णालीमा ओलीको समर्थनमा मुख्यमन्त्रीमाथि पार्टी भित्रैका सांसदको अविश्वासको प्रस्ताव, पर्सामा पूर्वमाओवादी कार्यकर्ताको हत्या हुँदा समेत प्रहरीले जाहेरी लिन नमान्नुजस्ता घटनाको सचिवालयमै छलफल हुनुपर्ने प्रचण्डको प्रस्ताव थियो । प्रधानमन्त्री भने पार्टीका सबै तहका बैठकबाट उम्कन खोजिरहेको नेकपाका नेताहरुको गुनासो छ ।