‘सरकारी अस्पतालले धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्नू’- स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोरोनाका बिरामीसँग धरौटी नलिन उपचार गर्न निर्देशन दिएको छ ।

आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पताललाई उक्त निर्देशन दिएका हुन् ।

धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको उनले जानकारी दिए।

उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग नि:शुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए।

सरकारले कोरोना संक्रमितको स:शुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ।