आइपीएल : राजस्थान बाहिरियो, कोलकाताको प्लेअफ पुग्ने सम्भावना कायमै

दुबई । आईपीएल क्रिकेटमा राजस्थान रोयल्स समुह चरणबाटै बाहिरिएको छ । निर्णायक मानिएको खेलमा आइतबार राती कोलकता नाइट राइडर्ससँगै ६० रनले हारेसँगै उसको अन्तिम चारमा पुग्ने ढोका बन्द भएको हो । कोलकताले भने आफ्नो सम्भावना कायमै राख्न सफल भएको छ ।

कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा मात्र १३१ रन रोकियो । कोलकाताका लागि पेट कमिन्सले चार विकेट लिएका छन् । जितपछि कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । कोलकाताका लागि कप्तान इयान मोर्गनले नटआउट ६८ रनको योगदान गरे । उनले मात्र ३५ बल खेलेका थिए ।

आइतबारको खेलपछि किंस इलावेन पंजावसमेत आइपिएलको समुह चरणबाटै बाहिरिएको छ । उसलाई यसअघि नै बाहिरिएको चेन्नाईले पराजित गर्यो । चेन्नाईले आफुसँगै पंजावको ढोका समेत बन्द गरिदियो ।