काठमाडौं । महाधिवेशनको मिति नजिकिएसँगै आन्तरिक विवादमा फसिरहेको कांग्रेसले आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बस्ने बैठकलाई कांग्रेसले औपचारिकता भने दिएको छैन ।
सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको र विधि विधानअनुसार चल्न नसकेको आरोपसहित वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यले १६ बुँदे असहमतिसहितको विरोध पत्र पार्टी कार्यालयमा बुझाएका थिए ।
पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक राखेको कांग्रेस स्रोतको भनाई छ । बैठकमा वरिष्ठ नेता पौडेललाई पनि आमन्त्रण गरिएको छ ।
देउवाले महाधिवेशन प्रभावित पार्न विभागहरुमा मनोनयन जारी राखेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहेको छ । ४७ विभागमध्ये देउवाले २० बढीमा संयोजकसहित सदस्यमा एकलौटी मनोनित गरेका छन् । कांग्रेसले महाधिवेशनबारे छलफल गर्न भने कात्तिक २१ मा केन्द्रीय समिति बैठक बोलाएको छ ।