काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानलाई अवरोध गरेको छ । सडकमा खाना खुवाउँदा सरकार र महानगरपालिकाको बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण बन्द गर्न निर्देशन दिएको अभियन्ताहरुलाई उदृत गर्दै नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् ।
सामाजिक अभियन्ताको पहलमा कोरोना भाइरसको महामारीपछि खुलामञ्चमा समस्याका कारण भोकै रहेका श्रमिक, गरीब तथा असहाय नागरिकलाई खाना खुवाउने गरिएको छ । तर, महानगरले भने नगर प्रहरी नै पठाएर खाना वितरणमा अवरोध गरेको हो ।
पछिल्लो तीन दिन यता महानगरले यो अभियानमा रोक लगाउन थालेको हो । मेयरसावको आदेश भन्दै खाना वितरणमा अवरोध हुने गरेको छ । महानगरपालिकाले समेत खाना वितरण रोकेको स्वीकार गरेको छ ।
अहिले सडकमा खाना वितरण गर्नु पर्ने कोही व्यक्ति नभएको निष्कर्ष निकाल्दै खाना वितरण बन्द गर्न लगाइएको महानगरपालिका स्रोतलाई उल्लेख गर्दै संचारमाध्यमले लेखेका छन् । सार्वजनिकस्थलमा फोहोर भएको तथा सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भएको निष्कर्षमा महानगर पुगेको हो ।