‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी मतगणनामा धाँधली भएको कारण आफू सर्वोच्च अदालतमा जाने बताएका छन् ।

बुधबार ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले केही मानिसहरुले मतदान सकिएपछि पनि भोट हालेको कारण सर्वोच्च अदालत जान लागेको बताएका हुन् ।

‘हामी मतदानको विषयमा अमेरिकाको सर्वोच्च अदालत जाँदैछौं। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं।’ उनले भने।

चुनाव जित्नै लागेको अवस्थामा धाँधली गरेर आफूलाई पछाडी पारिएको आरोप समेत उनले लगाएका छन् । चुनावको अन्तिम मत परिणाम आउन अझै केही समय लाग्न सक्छ । ट्रम्पले यस्तो दाबी गरिरहेपनि धेरै राज्यहरुबाट अन्तिम मतपरिणाम आउन बाँकी नै छ । जर्जिया, मिचिगन, नेभादा, उत्तरी कारोलिना, पेन्सिलभेनिया, विस्कन्सिनलगायत राज्यको मतगणना सकिनैं बाँकी छ । यसमध्ये धेरैजसो राज्यमा ट्रम्प अगाडि देखिएका छन् । यद्यपी, मतान्त निकै साँघुरो भएकाले यी राज्यको पूर्ण नतिजा नआएसम्म कसले जित्न भनेर ठोकुवा गर्न कठिन छ ।

कोरोना भाइरसका कारण यस वर्ष हुलाकमार्फत भोट खसाल्ने मतदाताहरुको संख्या ठूलो देखिएको छ, उनीहरुले निर्वाचन मितिभन्दा केही दिनअघि नै भोट खसालेका थिए ।

यद्यपी, निर्वाचन सकिएपछि मात्रै उनीहरुको मतगणना हुन्छ । उनीहरुको मतगणना गर्न समय लागेकाले केही राज्यको अन्तिम मतपरिणाम आउन पनि ढिलाई भएको हो । ती मतदाताको प्रभाव निर्वाचनमा ठूलो पर्नसक्ने ठानिएको छ । (एजेन्सी)