सेयर बजार फेरि ओरालो, अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घट्यो

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साता शुरुका दुई दिन लगातार ओरोलो लागेको बजार मंगलबार केही सुधार देखिए पनि आज फेरि ओरालै लागेको छ ।

सूचकमा सामान्य गिरावट आए पनि आज कारोबार रकम भने ह्वात्तै घटेको छ । हिजोको तुलनामा कारोबार रकम ४७ करोडले घटेको छ ।

सेयर बजार मापक सूचक नेप्से २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा पुगेको छ । यसदिन २०२ कम्पनीको १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०४ रुपैयाँ बराबरको कारोबार भएको छ । ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचकमा गिरावट आएको छ । आज सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २५.३१ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ८८.६८ अंकले घटेको छ ।

आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै ९ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण काबेली पावर र नेपाल टेलिकमको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

घट्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी र आजैदेखि कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज शिवश्री हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.१७ प्रतिशतले गुमाएका छन् ।