बंगलादेशसँग खेल्न राष्ट्रिय टोलीको घोषणा र बिदाई

तस्वीर : एन्फा

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रिपूर्ण फुटबलको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरणको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले बिदाइ गरे। टोली बिहीबार ढाका पुग्दैछ । टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी रहेका छन् ।

प्रारम्भिक प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये रोहित चन्द र कोरोना संक्रमण देखिएका ७ जना खेलाडी बाहेक सबै टोलीमा अटाएका छन् । चन्दले प्रशिक्षणकै क्रममा चोट बोकेका छन् ।

नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल नेपालले कोरोना भाइरसपछि रंगशालामै पुगेर गरेको पहिलो प्रतिस्पर्धा हुनेछ ।

मुख्य प्रशिक्षक योहान कालिन कोरोनाका कारण स्विडेनमै अड्किएका छन् । सोहीकारण टीमलाई बालगोपाल महर्जनले प्रशिक्षण दिए । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल छन्।

यस्तो छ नेपाली टीम
किरण चेम्जोङ (कप्तान) अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ