कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण एकै दिनमा सर्वाधिक मानवीय क्षतिको रेकर्ड बनेको छ । विश्वभर पछिल्लो २४ घण्टामा सर्वाधिक ९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएको छ ।

अब विश्वभर कोरोना भाइरसको संक्रमणछि ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ । त्यसो त नेपालमा समेत पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अर्थातः ३० जनाको मृत्यु भयो । यही ट्रेण्ड विश्वभर देखिएको छ ।

युरोपेली मुलुकमा पछिल्लो २४ घण्टामा ३ हजार ९२८ जनाको मृत्यु भएको छ । यी मुलुकहरुमा कोरोनाको दोस्रो लहरले समेत ठूलो मानवीय क्षति निम्याउन थालेको हो । अब युरोपेली मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८९ हजार ७४८ पुगेको छ ।

विश्वभर एकै दिन ५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिले विश्वभर संक्रमितको संख्या ४ करोड ८४ लाख पुगेको छ ।

संक्रमितमध्ये ३ करोड ४६ लाख ६५ हजारभन्दा बढी निको भएका छन् । १ करोड २५ लाख १६ हजार ७३१ को उपचार जारी छ । त्यसमध्ये ८९ हजार २१६ जना गम्भीर अवस्थामा छन् ।