काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे प्रतिनिधिसभाका सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको मृत्यु भएपछि पाण्डे सांसद बन्न लागेका हुन् ।
केसीको मंगलबार निधन भएको हो । उनी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका हुन् ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम छ । सोहीकारण उनी सांसद बन्न लागेका हुन् । २०७४ मा भएको निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषको सूचिबाट पाँच जना सांसद बनेका थिए ।
पाण्डेको नाम छैठौं नम्बरमा रहेको छ । कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका भने प्रत्यक्ष निर्वाचित सभासद हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट विजयी भएका थिए ।