दुबई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार राती सम्पन्न पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै मुम्बई पाचौं उपाधी दाउ पार्ने मुडमा छ ।
मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमा रोकियो । पराजित भएपनि दिल्लीका लागि फाइनल सम्म पुग्ने अर्को बाटो भने अझै जिवित छ । शुक्रबार सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीच एलिमिनेटर खेल हुनेछ ।
यो खेलमा पराजित हुने टोली बाहिरिने छ भने विजेता टोलीले दिल्लीसँग भिड्ने छ । सोही खेलबाट फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । मुम्बई फाइनल पुगेको यो छैटौं पटक हो ।
सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । यस्तै २०१५, २०१७ र २०१९ मा पनि मुम्बई च्याम्पियन बनेको छ ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्य कुमार यादव र इशन किसनको अर्धशतक तथा हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङ मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो ।
दिल्लीका लागि आश्विनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले खराब सुरुवात गर्यो ।
दिल्लीका लागि मार्कुस स्टोइनिङले अर्धशतक र अक्क्षर पटेलले ४२ रन जोडे । मुम्बईका जसप्रित बुमराह एक्लैले ४ विकेट लिए । ट्रेन्ट बोल्टले पहिलो ओभरमै दुई विकेट लिँदै मुम्बईको जितको आधार खडा गरिदिएका थिए ।