बाइडनले राष्ट्रपति पदको दाबी नगरुन : ट्रम्प

काठमाडौं । राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई आफु राष्ट्रपतिमा निर्वाचित भएको घोषणा नगर्न भनेका छन् । यस्तो दावि र घोषणा आफुले पनि गर्न सक्ने भन्दै कानूनी प्रक्रियाको सम्मान गर्न उनले सचेत गराएका हुन् ।

राष्ट्रपति पदमा बाइडन जित नजिक पुगेका छन् । तर, ट्रम्प यो नतिजा स्वीकार गर्ने पक्षमा भने छैनन् । ट्रम्पले सामाजिक संजाल टुइटरबाट यस्तो चेतावनी दिएका हुन् । कानुनी प्रक्रिया सुरु भएपछि आफ्नो अग्रता फेरि फर्किने विश्वास उनले लिएका छ् ।

उनले भनेका छन, ‘चुनाव भएको राति सबै राज्यहरुमा मेरो अग्रता थियो तर दिन बित्नासाथ चामत्कारिक ढंगले गायब भएको देखियो । हाम्रो कानुनी कारबाही अगाडि बढेपछि सायद त्यो अग्रता फर्कने छ ।’

मत गणनामा धाँधली भएको भन्दै ट्रम्प र उनका समर्थकहरु अदालत गएका छन् । तर उनले धाँधलीको प्रमाण जुटाउन भने सकिरहेका छैनन् । अहिले पेन्सलभेनियामा बाइडनले ट्रम्पविरुद्ध अग्रता लिएका छन् । एरिजोना, नेभाडा र जर्जियामा पनि बाइडन अगाडी बढेका छन् ।